विदेशमा बस्ने हामी नेपाली
डा. बच्चुकैलाश कैनी
हाम्रो पुस्तामा नेपालबाट विकसित देशमा आई बसोबास गर्ने धेरैको मुखबाट निस्कने एउटा वाक्य हो यो, ‘म केटाकेटीका लागि विदेश आ’को !’ थोरैका लागि यो वाक्यमा सत्यता होला । तर, धेरैका लागि यो वाक्य विदेश आउने एउटा बाहना मात्रै हो ।
यो सन्दर्भमा अरुको कुरा गर्नुभन्दा पहिले आफ्नै कुरा गरूँ । म विदेश आएपछि स्वभाविकरुपमा मेरी पत्नी, छोरा र छोरी पनि लाभावान्वित भए । अलिकति आर्थिक लाभ भयो । विदेशमा पढ्ने, सिक्ने र सीप हासिल गर्ने अवसर मिल्यो ।
शुरुमा विदेश आउने कारणहरु जस्तै पढ्न, जागिर खान, स्थायी वा अस्थायी बसोवास गर्ने जे भए पनि मलगायत विदेशमा बस्ने अधिकांश नेपालीहरु आफ्नै कारणले आप्रवाशी भएका हौं । हामी ‘इकोनोमिक माइग्रेन्ट’ हौं । त्यो पनि अरुका लागि हैन, आफ्नै लागि ।
नेपालीहरुलाई विदेश आई बसोबास गर्नुपर्ने धेरै कारणहरु छन् । सबैको एउटै कारण नहुन पनि सक्छ। कोही अध्ययनका लागि आउँछन्, कोही रोजगारीका लागि, कोही स्थायी बसोबासका लागि आदि। तर, जे भए पनि नेपाल छोडेर विदेश आउने अधिकांश मानिस आर्थिक कारणले विदेश आउँछन।
बिद्धार्थीका रुपमा आए पनि अधिकांश बिद्धार्थी अध्ययन सकेर विकसित वा पश्चिमी मुलुकमा स्थायीरुपमा बसोबास गर्ने मनसायले विदेश आउने गरेको तथ्य छर्लंग छ ।
विश्व अहिले एउटा ‘ग्लोबल भिलेज’ हो । रोजगारी, अध्ययन वा आर्थिक कारणले एउटा मुलुकको मानिस अर्को मुलुकमा जानु सामान्य हो । यसका धेरै आर्थिक र सामाजिक पाटोहरु छन् । नेपालको अहिलेको सन्दर्भमा आफ्नो जन्मभूमि छाडेर अर्को मुलुकमा रोजगारी वा अध्ययनका लागि जाने कुरा रोक्न असम्भवजस्तै छ । यो रोक्न धेरै पहल कदमहरु चल्नु जरुरी छ ।
आजकल नेपालमा हुनेखाने उच्च र मध्यम वर्गका परिवारले आफ्ना केटाकेटीहरुलाई उच्च अध्ययनका लागि विदेश पठाउनुपर्छ भन्ने मान्यता छ । नेपालमा पनि स्नातक वा स्नातोकत्तर शिक्षाका लागि राम्रो वा स्तरीय कलेज नभएका हैनन् । तर पनि, समाजमा आफ्नो पहिचान र आर्थिक हैसियत देखाउन पनि विदेश पठाउने चलन छ । अर्को कुरा, उच्च शिक्षा अध्ययनपछि नेपालमा सीमित रोजगारीको अवसर छ । त्यसैले पनि आफ्ना केटाकेटीहरुलाई अध्ययनका लागि विदेश पठाउनुपर्छ भन्ने मान्यता छ नेपालमा ।
प्रश्न उठ्छ, के नेपालमा पढ्ने जनशक्ति सक्षम छैन ? अहिले सरकारी वा निजामती क्षेत्रमा काम गर्ने जनशक्ति हेर्ने हो भने अधिकांश सबै नेपालको कलेज वा विश्वविद्ध्यालय पढ्नेहरु नै देश चलाइरहेका छन् । नेपालको निजी क्षेत्रमा पनि नेपालमा पढेलेखेका जनशक्ति काम गर्छन् । नेपालमा पढेका चिकित्सक, इन्जिनियर, नर्स, प्राविधिक जनशक्ति नेपालमा मात्रै हैन, विश्वको धेरै मुलुकमा काम गर्दैछन् । यसले के देखाउँछ भने अपवाद बाहेक नेपालमा चाहिने जनशक्ति नेपालमा नै तयार हुन्छन् । साथै, नेपालको जनशक्ति अरु मुलुकमा प्रतिस्पर्धा गर्न समेत तयार छ ।
मानिस स्वाभाविक र प्राकृतिक रुपमा बाठो प्राणी हो । यसको अर्थ के हो भने अपवाद बाहेक मानिसले पहिले आफ्नो लागि बाटो हेर्छ र सोच्छ । अनि मात्रै आफ्नो परिवार, समाज, देश र जगतको लागि सोच्ने हो । सबैले आफ्नो अवस्था, स्वास्थ्य, परिवेश र क्षमता राम्रो र असल बनाउने हो भने समाज असल हुन्छ। असल समाज भए मात्र राष्ट्र पनि सम्मुनत र विकसित हुन्छ।
संयुत्त राष्ट्र संघको विश्व आप्रवासी संगठनले प्रकाशित गरेको ‘वर्ल्ड माईग्रेसन रिपोर्ट २०२०’ का अनुसार विश्वको कुल जनसंख्याको करीव साढे तीन प्रतिशत अर्थात २७ करोड २० लाख मानिस आप्रवासी छन् । यो संख्याको करीव दुई तिहाई मानिस श्रमिकको रुपमा अन्य मुलुकहरुमा काम गर्छन् भने झन्डै त्यत्तिकै संख्यामा काम गर्ने उमेर समुहका अर्थात २० देखि ६४ वर्ष उमेरका छन् ।
आप्रवासी बसोबास गर्ने मुलुकहरुको कुरा गर्ने हो भने बिशेष गरी विकासोन्मुख मुलुकहरुबाट विकसित मुलुकहरु, जस्तै- अमेरिका, फ्रान्स, रुस, युनाइटेड अरब इमिरेट्स र साउदी अरेबिया आदि मुलुकहरुमा गई बसोबास गर्नेको संख्या अधिक हुने गर्दछ । उक्त प्रतिवेदन अनुसार संयुक्त राज्य अमेरिकामा मात्रै ५ करोड ७ लाख आप्रवासीहरु विश्वको अरु मुलुकहरुबाट त्यहाँ गई बसोबास गर्छन । अन्य मुलुकहरुमा गई बसोबास गर्ने आप्रवासीहरु मध्ये भारतबाट मात्रै १७ करोड ५ लाख, मेक्सिकोबाट १ करोड १७ लाख र चीनबाट १ करोड ७ लाख मानिस छन् ।
यिनै आप्रवासीमध्ये हामी पनि पर्छौं । अहिलेको विश्व परिवेशमा आप्रवासी हुनु कुनै नौलो कुरा हैन । आप्रवासीबाट प्राप्त हुने आय श्रोत अर्थात रेमिट्यान्सलाई नै देशको कुल आन्तरिक उत्पादन अर्थात ‘ग्रस डोमेस्टिक प्रडक्ट’ मान्य हो भने रेमिट्यान्स प्राप्त गर्ने विश्वको प्रमुख पांच मुलुकहरुमा नेपाल पनि पर्दछ, जहाँ २८ प्रतिशत कुल आन्तरिक उत्पादनको श्रोत रेमिट्यान्स हो ।
योमध्ये धेरैजसो खाडी मुलुकहरुबाट प्राप्त हुने भए पनि पश्चिमी तथा अन्य विकसित मुलुकहरुमा बसोबास गर्ने नेपालीहरुबाट प्राप्त हुने रेमिट्यान्सको योगदान पनि कम छैन । अझ गैर बैंकिङ माध्यमबाट नेपालमा प्राप्त हुने रकमको हिस्सा पनि निकै ठूलो छ, जुन यो तथ्यांकमा समावेस छैन ।
मानिसले आफूलाई पहिलो प्राथमिकतामा राख्नु स्वार्थ हैन। स्वार्थ भनेको खाली आफ्नो बारेमा मात्र सोच्नु र अरुप्रतिको कर्तब्य बिर्सनु स्वार्थ हो । विदेशमा बस्दैमा नेपालीहरु स्वार्थी भएको भन्न मिल्दैन । जे कारणले विदेशमा बसोबास गरेको भए पनि अधिकांश विदेशमा बस्ने नेपालीहरुले आफ्नो समाज र परिवारप्रतिको कर्तब्य निर्वाह गरेका छन् ।
अर्को थप कुरा के भने विदेशमा बस्ने नेपालीहरुले नेपालमा बस्ने परिवार र आफन्तहरुको लागि पनि निकै ठूलो धनराशी बिभिन्न चाडपर्व, रीतिरिवाज, धर्म संस्कृति आदिसँग सम्बन्धित कार्यहरुमा खर्च गर्छन् । समय-समयमा विदेशबाट नेपाल विभिन्न कामले जाने, नेपालमा विभिन्न कामका लागि खर्च गर्नेजस्तै आन्तरिक पर्यटकको घुमफिर गर्दा खर्च गर्ने, घर घडेरी जोड्ने, विलासिताको सामाग्रीहरु जोड्ने आदि कुराका लागि गर्ने खर्च पनि योगदानमा देशको आय श्रोतमा गनिन्छ ।
यो अर्थमा अधिकांश आप्रवाशी नेपालीहरुले नेपालको अर्थतन्त्रमा धेरै योगदान दिएका छन् । तर, योगदान दिएअनुसार विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा सरकार र समाजले हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन।
विश्वको विकसित मुलुकमा हुने सबै कुरा जस्तै रोजगारी र राम्रो उच्च शिक्षाको अवसर नेपालमा नै हुने भए अधिकांश विदेश जाने नेपाली अरु मुलुकमा रोजगारी वा उच्च शिक्षाका लागि विदेश जानु पर्ने अवस्था आउने थिएन ।
विडम्बना नै भन्नुपर्छ, अबको केही बर्ष वा दशकसम्म यो चलन अन्त्य हुने अवस्था देखिँदैन । त्यतिबेलासम्म लाखौँ नेपाली युवा विदेशको भूमिमा काम गर्न जानेछन् । धेरै युवा पढाइपछि उतै ‘सेटल’ हुनेछन् । त्यतिबेलासम्म नेपाल आर्थिकरुपमा झन् रेमिट्यान्समा भर पर्नेछ । समाज र देशले विदेशमा काम गर्ने नेपाली र आप्रवासी नेपालीको योगदानको मूल्यांकन नगरे पनि उनीहरुको योगदान भने निकै बढ्नेछ ।
( २०७७ साउन ८ गते onlinekhabar.com मा प्रकाशित । लेखक डा. कैनी क्विन एलिजावेथ अस्पताल, लण्डनमा बरिष्ठ व्यवस्थापक र आर्डेंन विश्वविद्ध्यालय, लण्डनमा सह-प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । )